स्थानीय निर्वाचनकाे तथ्याङ्क: १० हजार ७५३ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १३ : १६
स्थानीय निर्वाचनकाे तथ्याङ्क: १० हजार ७५३ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र

काठमाडौँ  । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ। देशभर एकै चरणमा निर्वाचन हुने भएकाे हाे। निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ।

आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउने छन्। यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधानसभा निर्वाचनमा रहेको थियो। सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८३२ रहेको थियो।

आउँदो स्थानीय तहको निर्वाचनको लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन्। आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थलअन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरु राख्ने निर्णय गरेको छ।

आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ रहेको छ। मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन्। मोरङपछि झापा र काठमाडौँमा सबैभन्दा बढी मतदाता रहेका छन्। झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना मतदाता रहेको आयोगले जनाएको छ।

सबैभन्दा कम मतदाता संख्या मनाङ, मुस्ताङ र डोल्पामा रहेका छन्। आयोगका अनुसार मनाङमा ६ हजार ४९६, मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता रहेका छन्।

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौँ, पोखरा र भरतपुर महानगरपालिका छन्। काठमाडौँमा ३ लाख २४२, पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७५२ जना मतदाता रहेको आयोगले जनाएको छ।

सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन्। नार्पा भूमिमा ४४८, चामेमा ७११ र छार्का ताङसोङमा ९६७ मतदाता रहेका छन्।

यसपटक सबैभन्दा बढी मतदान केन्द्र मोरङ, काठमाडौँ र झापा जिल्लामा रहेको छ। मोरङमा ८२०, काठमाडौंमा ७५९ र झापामा ७५५ वटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले बताएको छ। यस्तै सबैभन्दा कम मतदाा केन्द्र रहेका जिल्लामा मनाङ, मुस्ताङ र रुकुम पूर्व रहेका छन्। मनाङमा २८, मुस्ताङमा ३८ र रुकुम पूर्वमा ४९ वटा मतदान केन्द्र राख्ने निर्णय आयोगले गरेको छ।

प्रदेशहरुमा सबैभन्दा बढी मतदान केन्द्र मधेस, बागमती र प्रदेश नं १ मा रहेका छन्। आयोगका अनुसार मधेसमा ४ हजार १८९, बागमतीमा ४ हजार ९५ र प्रदेश नं १ मा ४ हजार ५१ वटा मतदान केन्द्र रहने छन्। सबैभन्दा कम कर्णालीमा १ हजार ३८५, सुदूरपश्चिममा २ हजार १०३ र गण्डकीमा २ हजार ३०० मतदान केन्द्र रहने छन्।

प्रतिक्रिया दिनुहोस