चुनावमा आवश्यकता हेरेर मात्रै गठबन्धन गर्छौं : प्रवक्ता महत

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १७ : २६
चुनावमा आवश्यकता हेरेर मात्रै गठबन्धन गर्छौं : प्रवक्ता महत

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्रै गठबन्धन गरिने बताए।आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताए।

उनले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताए। उनले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि बताए।

प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताए।प्रवक्ता महतले भने, ‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आफ्नो आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ। आवश्यक्ताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषय मात्रै होइन, अब भोलिसम्म सबै साथीहरुले बोलिसकेपछि कुन खालको मोडालिटीमा कस्तो खाले ढाँचामा जान्छ भन्ने कुराको पनि निर्क्योल हुन्छ।'

प्रवक्ता महतले भोलि (सोमबार) स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस