एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १५ : २०
एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छिन् । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् ।

बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन । ‘एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं,’ उनले भनिन् ।

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी करिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताललगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस