नेपालमा एमआरएनए भ्याक्सिनको क्लिनिकल ट्रायल नहुने

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १५ : ००
नेपालमा एमआरएनए भ्याक्सिनको क्लिनिकल ट्रायल नहुने

काठमाडौँ ।  नेपालमा हुने भनिएको कोरोनाविरद्धको ‘एमआरएनए’ क्लिनिकल ट्रायल नहुने भएको छ। चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली फर्मास्युटिकल्स प्रालि (डिजेपिएल)सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो क्लिनिकल ट्रायल नेपालमा हुने भनिएको थियो।

मन्त्रिपरिषद बैठकले गत भदौ १० मा एमआरएनए खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको थियो। अनुमतिअनुसार सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो चरणको खोप परीक्षण गर्ने तयारी गरिएको थियो।तर‚ उत्पादक कम्पनीले खोपको क्लिनिकल ट्रायल नगर्ने निर्णय गरेपछि उक्त कार्यक्रम रोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी अनुसन्धान अधिकृत नमिता घिमिरेले बताइन्। ‘खोपको ट्रायल गर्ने निर्णय गरिएको हो‚’ उनले भनिन्‚ ‘तर‚ अब कम्पनीलेनै नगर्ने भनेपछि अब सो खोपको नेपालमा क्लिनिकल ट्रायल नहुने भएको हो।’

गत कात्तिकसम्म नै क्लिनिकल ट्रायल गरिसक्नुपर्ने भए पनि खोप उत्पादक कम्पनीले चासो दिएको थिएन। अहिले कम्पनीले क्लिनिकल ट्रायल नै नगर्ने निर्णय गरेको हो। पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको र नयाँ-नयाँ भेरियन्टहरू आउने हुँदा उक्त खोपले काम गर्छ वा गर्दैन भन्ने अन्योल भएकाले पनि कम्पनीले खोपको ट्रायल गर्ने इच्छा नदेखाएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरे बताउँछिन्।

पछिल्लो समय नेपालमा धेरै जनताले कोरोना विरुद्धको खोप लगाइ सकेका र नयाँ नयाँ भेरियन्ट आएको खण्डमा यो खोपले काम गर्ने कि न गर्ने हो कि भनेर पनि खोपको ट्रायल नगर्ने निर्णयमा पुगेको  हुनसक्ने समेत बताए।

क्लिनिकल ट्रायल भएको भए के फाइदा हुने थियो

तेस्रो चरणको खोप को क्लिनिकल ट्रायल यदि नेपालमा भई सफल भएको भए केही खोप नेपालले निःशुल्क पाउने थियो। यस्तै‚ खोप नेपालमै उत्पादन हुने सम्भावना रहेको थियो।

उक्त खोप सामान्य रेफ्रिजेरेटरको तापक्रम अर्थात् २ देखि ८ डिग्री तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिने बताएइएको छ। यस खोपको क्लिनिकल ट्रायलका लागि आवेदन परेपछि स्वास्थ्य अनुसन्धान परिषद्ले खोपबारे वैज्ञानिक आधार, इथिकल रिपोर्ट जाँचबुझ गरी ट्रायल गर्न अनुमति दिन भन्दै सरकारलाई सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस