दुई बर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने श्रममन्त्री श्रेष्ठको निर्णय

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १७ : ११
दुई बर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने श्रममन्त्री श्रेष्ठको निर्णय

 काठमाडौं । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो ।

मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुन: सुरु गर्ने निर्णय गरिएको हो । 

प्रतिक्रिया दिनुहोस