पेट्रोल पम्पमा किन बढ्यो भीड

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १५ : ३८
पेट्रोल पम्पमा किन बढ्यो भीड

काठमाडौं ।  पेट्रोलियम पदार्थमा देखिएको अन्यौलतासँगै विराटनगरका पेट्रोल पम्पमा सर्वसाधारणको भीड बढेको छ। शनिबार विराटनगरका अधिकांश पेट्रोल पम्पमा पेट्रोल तथा डिजल भर्नका लागि सवारीसाधनको घुइँचो रहेको छ।

केही पम्प पेट्रोल नभएको जनाउँदै बन्द अवस्थामा रहेका छन्। नेपाल आयल निगमबाट कमिशन रकम प्राप्त नभएपछि पेट्रोलियम डिलर्स एशोसिएनले शुक्रबार विरोध जनाएको थियो।

यद्यपि शनिबार दिउँसोबाट प्रदेशका अधिकांश जिल्लामा पेट्रोल सहज हुने कोशी पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष दुर्गाबहादुर बस्नेतले जानकारी दिए।

प्रदेशका विभिन्न पेट्रोलियम पम्पमा बिहानबाट देखिएको भीडका सन्दर्भमा अध्यक्ष बस्नेतले भने, ‘पेट्रोलियम पदार्थका लागि भीड गर्न आवश्यक छैन। आयल निगमबाट पेट्रोलका ट्याङकर बजार गइसकेको अवस्था छ। अहिले हाहाकार हुने हल्लाको पछाडि दौडन पर्दैन।’

सरकारले पेट्रोलको मूल्य १ सय ४५ रुपैयाँबाट १ सय ५० रुपैयाँ पुर्‍याएसँगै डिलर्स एशोसिएसनले कमिशन नदिएको भन्दै विरोध गरेको थियो। पेट्रोलको मूल्य बढेसँगै एशोसिएसनले निगमबाट पेट्रोलमा प्रतिलिटर १५ पैसा र डिजलमा प्रतिलिटर १५ गरी कुल २७ पैसा कमिशनको माग गरेको अध्यक्ष बस्नेतले बताए।

तर निगमले १२ पैसा कमिशन मात्र उपलब्ध गराएपछि उनीहरु विरोधमा उत्रिएका हुन्। अध्यक्ष बस्नेतले भने, ‘कमिशनको रकम कम हुँदा हिजो विरोध गरेका हौँ। आज त्यो समस्या छैन। पेट्रोलका लागि समस्या हुँदैन। यद्यपि निगमलाई हामीले १५ दिनको समय दिएको हुँदा थप समस्या होला भन्ने लाग्दैन।’

निगमबाट डिलर्स एशोसिएशनले डिजलमा प्रतिलिटर ३ रुपैयाँ १२ पैसा र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ४५ पैसा पाउनुपर्ने उनले बताए। विराटनगरस्थित आयल निगमबाट शनिबार बिहान पेट्रोल भरिएका २८ वटा ट्यांकर बजारमा निस्किएको पूर्वाञ्चल पेट्रोलियम ढुवानी एशोसिएसनका अध्यक्ष ध्रुव सिग्देलले बताए। उनका अनुसार साँझसम्ममा ५ लाख ६० हजार किलोलिटर पेट्रोल विराटनगरका पम्प र नजिक आसपासका जिल्लाका पम्पमा पेट्रोल पुगिसक्ने छ।

अर्कोतर्फ कटहरी गाँउपालिकाको नयाँ बजारबाट पेट्रोल भर्न विराटनगर पम्पमा पुगेका स्थानीय शिवजी शर्माले पेट्रोल नपाउने हल्लाले समस्या भएको बताए। पेट्रोलको मूल्यबृद्धिले जनतालाई सास्ती भएको गुनासो पोख्दै उनले पेट्रोलको मूल्य घटाउन र सहज रुपमा वितरण गर्ने वातावरण बनाउन आग्रह गरे।  

प्रतिक्रिया दिनुहोस