काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन ।
संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाए।
प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।
उपाध्यक्ष नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन् भन्दै प्रश्न गरे।
‘केही साथीहरू किन जनतामा जाने भन्दा डराउँछन रु प्रतिगमन भन्छन । भरसक जनतामा जाने मिति पर सार्छन्,’ उनले भने, ‘बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैँले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गरे ।
नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर बनाइएको चुच्चे नक्सा प्रिय भएको भन्दै उनले वर्तमान सरकारले त्यसलाई गायव बनाएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, १५ : ०७
लेखकबाट थप