- रविन्द्र समीर
राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो– ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’
बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएका खानेकुरालाई भोको आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरूको बासनाले रसाएर आयो ।
– ‘बाजे ! के खाने ?’
भोकले अम्लपित्त बल्झिएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरूमा दर नसोधी खान हुन्न भन्ने कुरा उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो– ‘आलु चनाको सय रुपियाँ, चाउमिनको एकसय पचास, पकौडाको एस सय, मासुपुलाउको दुई सय पसचास,मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी …।’
दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।
– ‘बाजे के ल्याम तपाईलाई ?’
बूढाले खोक्दै जबाफ दिए– ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ …!’
(अणु र पहाड लघुकथासङ्ग्रहबाट साभार)
प्रतिक्रिया दिनुहोस