यथास्थितिमै एमसीसी सम्झौता टेबल भए सरकारबाट बाहिरिन्छौँ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, २० : ४०
यथास्थितिमै एमसीसी सम्झौता टेबल भए सरकारबाट बाहिरिन्छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने बताएका छन् । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा नैतिकरुपले बस्न नमिल्ने उनको भनाइ छ । 

माओवादी अध्यक्ष प्रचण्डले अन्तर्वार्ताको क्रममा भने, ‘परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ । तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ।’
सरकारले परिमार्जनविनै टेबल गर्ने अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने स्पष्ट पार्दै प्रचण्डले एक अनलाइन पोर्टलसँगको कुराकानीमा भने, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीलेचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिकरुपले मिल्दैन ।’

एमसीसीका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकाको पनि प्रचण्डले कडा शब्दमा आलोचना गरे । एमसीसीको समस्या योरुपमा गिजोलिनुमा एमाले नेतृत्व जिम्मेवार रहेको प्रचण्डले आरोप लगाए । आपसी सम्वादका क्रममा केपी ओलीको विचार बुझ्दा एमालेले एमसीसीको पक्षमा मतदान नगर्ने आफूलाई लागेको प्रचण्डले सुनाए । 

प्रचण्डले आफू वर्तमान सत्ता गठबन्धनलाई जोगाएरै अघि बढ्ने प्रयासमा रहेको बताए । तर, एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने उनले स्पष्ट पारे । प्रचण्डले भने, ‘मैले इमान्दारितासाथ के भन्नुपर्छ भने विभिन्न शक्तिहरू, राजनीतिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेको स्थिति छ, ग्यारेन्टीका साथ गठबन्धन टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ ।’

प्रतिक्रिया दिनुहोस