पूर्वम्यादीलाई सीधै म्यादीमा भर्ना

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, १९ : २६
पूर्वम्यादीलाई सीधै म्यादीमा भर्ना

काठमाडौँ । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी सुरु गरेको छ। सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ। 

‘उनीहरुलाई खटाउँदा तालिम दिइरहनु परेन। भर्ना गरेर सिधै ड्युटीमा पठाउँदा भयो। २०७४ को चुनावका म्यादीलाई पनि बोलाउँछौँ,’ प्रवक्ता पोख्रेलले भने, ‘जतिसक्दो कम नयाँ म्यादी भर्ना गर्ने लक्ष्यअनुसार योजना बनाउन निर्देशन दिइएको छ।’
१० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेका कति जनशक्ति छन्, उनीहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। 

गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी सुरु गरेका छन्। नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सुरक्षा सेल गठन गरेर योजना बनाइरहेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए। यस्तै, गृह मन्त्रालयको निर्देशनअनुसार १० वर्ष भित्रमा अवकाश भएका प्रहरी र २०७४ को चुनावमा भर्ना गरिएका म्यादी प्रहरीलाई पनि सम्पर्क गरेर विवरण संकलन गर्न सुरु गरेको छ। सबै जिल्लालाई यस्तो विवरण संकलन गर्न निर्देशन दिइसकेको प्रवक्ता केसीले बताए। 

यसअघि म्यादी प्रहरीमा भर्ना भएका जनशक्तिको सम्पर्क लगायतका विवरण जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। उनीहरुलाई सम्पर्क गर्ने र आगामी चुनावमा खट्न सक्नेनसक्नेबारे जानकारी लिने काम भइरहेको छ। अवकाशप्राप्त र पूर्वम्यादीको विवरणपछि मात्रै नयाँ भर्ना गरिने म्यादीको संख्या टुंगो लाग्ने गृह मन्त्रालयले जनाएको छ। अब बस्ने सुरक्षा समितिको बैठकले कति म्यादी भर्ना गर्ने भन्ने टुंगो लगाउने गृह मन्त्रालयले जनाएको छ। यसअघि बसेको सुरक्षा समितिको बैठकमै आगामी निर्वाचनका लागि आवश्यक श्रोतसाधान र जनशक्तिको विवरण पेस गर्न सबै सुरक्षा निकायलाई भनिएको थियो। 

यस्तै, चुनावको अवधिमा महत्वपूर्ण योजना तथा कार्यालयहरुको सुरक्षामा नेपाली सेनालाई खटाएर प्रहरी र सशस्त्र प्रहरीलाई चुनावमा केन्द्रित गर्ने योजना छ। त्यस्ता कुनकुन कार्यालयमा सेना खटाएर कति जनशक्ति निकाल्न सकिन्छ भन्ने योजना पनि गृहले माग गरेको छ। सशस्त्र प्रहरीले पनि एआईजी पुष्पराम केसीको नेतृत्वमा टोली बनाएर काम सुरु गरेको छ। सबै जिल्लाबाट चुनावमा खटाउन सकिने जनशक्तिको विवरण माग गरिएको र अरु योजना तयार गरिरहेको एआईजी केसीले बताए। 

प्रतिक्रिया दिनुहोस