निर्वाचन घोषणा : आयोगलाई काम थाल्न हतारैहतार !

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १९ : २२
निर्वाचन घोषणा : आयोगलाई काम थाल्न हतारैहतार !

काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेकै दिन निर्वाचन आयोगले स्थानीय तहसँग भवन, सवारी साधन, फर्निचर र भौतिक साधनको विवरणका लागि पत्राचार गरेको छ। निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने भवन, सवारी साधन, कर्मचारीलगायतको व्यवस्थापन गर्न विवरण माग गरेको हो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तह निर्वाचन आगामी २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार ७५३ वटै स्थानीय तहलाई फरक नपर्ने गरी विवरण तयार गर्न लगाएर २०७८ माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन पत्राचार गरिएको हो।

प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्य निर्वाचन अधिकृतरनिर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा १र१ थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरुलाई त्यहाँबाटै पत्राचार हुन समेत अनुरोध गरिएको उल्लेख छ।

आयोगले जिल्ला सदरमुकाममा रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य सबै स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तह वा कुनै सार्वजनिक संस्था वा निकाय वा सामुदायिक विद्यालयको स्वामित्वमा रहेका कम्तीमा ३ वटा भवनहरुको संक्षिप्त विवरण हुनुपर्ने बताएको छ ।

यस प्रकारका सार्वजनिक भवन उपलब्ध नभई भाडामा लिनुपर्ने भएमा सम्भावित निजी भवनको विवरण र भुक्तानी गर्नुपर्ने अनुमानित मासिक भाडा रकम पनि उल्लेख गर्न आयोगको पत्रमा छ। स्थानीय तह निर्वाचन,२०७४ मा निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरुको विवरण समेत खुलाउन पनि आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस