‘स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त’ : पूर्वप्रधानन्यायाधीश पराजुली

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, ११ : २०
‘स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त’ : पूर्वप्रधानन्यायाधीश पराजुली

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त हुने चेतावनी दिएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए ।

पराजुलीले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः लोकतान्त्रिक प्रणाली नै नरहने अवस्था आउने दाबी गरे । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरुलाई बल पुग्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘निर्वाचन सार्ने भनेको त्यो आफैंमा मलाई कस्तो लाग्दछ भने यो गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ । डेमोक्रेसीलाई पनि धावा बोल्छ । अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ । गठबन्धन साहसका साथ निर्वाचनमा जान सक्नुपर्छ । गठबन्धन होस वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ ।

संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । र, अन्ततः यो डेमोक्रेटिक सिष्टम जान्छ र जसले यो संविधान चाहेका छैनन्, त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ ।’ पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्बन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस