एमालेको जनसंगठन संयन्त्रको बैठक बस्दै, समयमै चुनाव गराउन दबाब दिने

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, ०८ : ५४
एमालेको जनसंगठन संयन्त्रको बैठक बस्दै, समयमै चुनाव गराउन दबाब दिने

काठमाडौं । स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै नेकपा एमालेले सरकारलाई समयमा चुनाव गर्न दवाव दिने भएको छ ।  सत्तागठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी भइरहेका बेला बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठनमार्फत दवावका कार्यक्रम अघि बढाउने भएको हो ।

त्यसका लागि सो पार्टीले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । रिजालले दुई वटा एजेण्डामा छलफल गर्न बैठक बोलाएको बताए । ‘स्थानीय निर्वाचन समयमै नगराउने आलटाल भइरहेको छ । यसकोे विरुद्धमा एमाले छ । यस कुरालाई जनसंगठनहरुले आआफ्नो ठाउबाट दवाव दिन पार्टी परिचालन गर्नेगरी निर्णय गर्नेछ, अर्को जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने कार्यक्रम छ’, रिजालको भनाइ छ । 

उनका अनुसार संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन् । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् । सवै जनसंगठनमा सहइन्चार्ज नभएपनि इन्चार्ज र अध्यक्ष छन् ।

यो हिसावले पनि ५० जना भन्दा बढिको उपस्थितिमा संयन्त्रको बैठक बस्न लागेको हो । सरकारले कोरोना संक्रमण बढेकाले २५ जना भन्दा बढीको संख्यामा भेला नगर्न निर्देशन जारी गरेको छ । तर उपप्रमुख रिजालले बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने दावी गरे ।