चितवन । आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले बताउनुभयो । कार्यालयले चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि करतर्फ रु ८९ करोड ३६ लाख ८९ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकामा रु ८० करोड एक लाख ८५ हजारमात्रै संकलन भएको छ । पङ्गेनीले मूल्य अभिवृद्धि बिल नकाट्ने, कम काट्ने र कुनै पनि किसिमको करको दायरामा नआउनेसमेत भेटिएपछि तीव्र अनुगमन गरिएको बताउनुभयो । अनुगमनका क्रममा भ्याट बिल नकाटेको पाइएमा नियमानुसार कारवाही गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यालयका कर्मचारीहरुले सुराक सञ्जालसमेत प्रयोग गरेर अनुगमन गरिरहेका छन् । कतिपय कम्पनी तथा प्रतिष्ठानमा आशंका देखिएकामा पूर्ण लेखापरीक्षण गरी कर कायम गर्ने काम पनि कार्यालयले गरिरहेको छ ।
कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको हकमा १२ महिनामा रु ५० लाखसम्म कारोवार हुँदा दर्ता हुन नपर्ने व्यवस्था छ । साथै मूल्य अभिवृद्धि लाग्ने वस्तु तथा सेवा मिश्रित कारोवार र सेवाको हकमा रु २० लाखसम्मको कारोवार हुनेले दर्ता गर्नु नपर्ने व्यवस्था भएको उहाँले बताउनुभयो । एक पटकमा रु १० हजारभन्दा बढीको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारी गर्दा पनि दर्ता गर्नुपर्ने व्यवस्था रहेको अधिकृत पौडेलले जानकारी दिनुभयो ।
कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म रु १४ अर्ब ४५ करोड ६७ लाख राजश्व संकलन गरेको छ । जुन लक्ष्यको १०७ प्रतिशत हुन आउँछ । यस आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गतवर्ष रु १६ अर्ब ८८ करोड २० लाख राजश्व संकलन गरेको थियो ।
कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजश्व अन्तःशुल्कबाट उठ्ने गरेको कार्यालयका प्रमुख पङ्गेनीले बताउनुभयो । हाल कार्यालयको मातहतमा करीब ८० हजार करदाता छन् । (रासस)
प्रतिक्रिया दिनुहोस