तेहरान । इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ । स्थानीय समयानुसार बुधबार बिहान १०.३८ मा आएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन् । यस भूकम्प ५.२ म्याग्नीच्युड मापन गरिएको र मानिसहरु त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार संप्रेषण गरेको छ ।
यस भूकम्पको केन्द्रबिन्दु भूकम्प प्रभावित क्षेत्रको नै आपपासमा आठ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । फेरी पनि भूकम्पको पराकम्प हुने आशंकाले स्थानीय बासिन्दा सडक र खुल्ला ठाँउहरुमा भेला भएका छन् । उद्धारकर्ताहरुले घरमा कतैकोही पुरिएको छ की भनेर खोजी गरिरहेका छन् भने अहिले घरमा नजान र बाहिरै बस्न आह्वानसमेत गरिएको छ ।
मुख्य बजार क्षेत्रहरुका ठूलो क्षतिको कुनै विवरण नआएपनि ग्रामीण क्षेत्रमा भने सामन्य क्षति भएको पाइएको छ । भूकम्पका कारण सञ्चार सेवा र विद्युत् सेवा अवरुद्ध भएका छन् । त्यसैगरी केही सडकहरुमा पनि अवरोध भएका जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा उद्धार तथा राहतका लागि ठूलो संख्यामा स्वयमसेवकहरु पठाइएको छ ।
इरानको यही क्षेत्रमा सन् २०१७ को नोभेम्बरमा गएको ७.३ म्याग्नीच्युडको भूकम्पका कारण कम्तीमा ५३० जनाको मृत्यु हुनुको साथै आठ हजार घाइते भएका थिए । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस