दलीय भाग मिलाउँदा बागमती प्रदेशमा १८ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, २० : १७
दलीय भाग मिलाउँदा बागमती प्रदेशमा १८ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् झण्डै संघीय सरकारकै आकारमा पुगेको छ। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँच दलीय गठबन्धनलाई भाग मिलाउँदै चौथो पटक विस्तार गर्दा मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ। संघीय सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने संवैधानिक व्यवस्था छ। हाल मुख्यमन्त्री पाण्डेसहित ११ जना मन्त्री र एक राज्यमन्त्री थिए। तर गठबन्धनका थप सांसदलाई भाग पुर्‍याउन मन्त्रालय समेत फुटाइएको छ।

शुक्रबार सत्ता साझेदार कांग्रेसबाट मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र दीपेन्द्र श्रेष्ठ मन्त्री बनेका छन्। अन्य तीनजना राज्यमन्त्री बनेका छन्। यससँगै बागमती सरकार १८ सदस्यीय भएको हो। नेपाली कांग्रेसबाट शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेल नियुक्त भएका छन्। 

त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे नियुक्त भएका छन्।  कल्पना कांग्रेसको महामन्त्रीमा पराजित डा। प्रकाशशरण महतनिकट हुन्। कांग्रेसबाट मन्त्री बनेकामा मिलनबाबु चितवनका हुन्। बलराम रसुवा र दीपेन्द्र काठमाडौंका प्रदेशसभा सदस्य हुन्। 

पाँच दलीय गठबन्धनलाई भाग मिलाउन मुख्यमन्त्री पाण्डेले राज्यमन्त्री पनि थपेर १८ सदस्यीय पुर्‍याएका हुन्। पाण्डेले जम्बो मन्त्रिपरिषद् सदस्यहरुलाई नयाँ गाडी किन्न १८ करोड रुपैयाँ खर्च गर्ने तयारी गरिसकेका छन्। यसअघि गत मंसिर २८ गते पाण्डेले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसबेला सत्ता साझेदार माओवादी केन्द्रबाट विशाल खड्का, रत्न ढकाल र घनश्याम दाहाल थपिएका थिए। 

त्यसअघि गत कात्तिक २५ मा दुई जना मन्त्री थपेर ६ सदस्यीय बनाइएको थियो। कात्तिकमा माओवादी केन्द्रबाट शालिकराम जमकट्टेल र नेपाली कांग्रेसबाट निमा लामा मन्त्री भएका थिए। त्यसअघि कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा कानुन, कुमारी मोक्तान समाजिक विकास र कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए। 

प्रतिक्रिया दिनुहोस