इरानका कारणले मध्यपूर्वमा अस्थिरता

सोमबार, १७ बैशाख २०७५, १८ : २२
इरानका कारणले मध्यपूर्वमा अस्थिरता

रियाद । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इरानका कारणले मध्यपूर्वका केही देशहरुमा अस्थिरता उत्पन्न भएको आरोप लगाउनुभएको छ । उहाँले इरानले नै यस्तो अस्थिरता गराउने प्रयासहरू गरेको भन्दै इरानको विरोध गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ मध्यपूर्वको तीन दिने भ्रमणका क्रममा शनिबार साउदी अरबको राजधानी रियाद पुग्नुभएको थियो । भ्रमणका बेला उहाँले मध्यपूर्वमा अमेरिकाका प्रमुख सहयोगी जेरूसेलम तथा अम्मानका अधिकारीसँग छलफल गर्नुभएको थियो ।

पोम्पेओको अमेरिकी विदेशमन्त्रीका रूपमा यो पहिलो औपचारिक भ्रमण गर्नुभएको हो । पहिलोपटक मध्यपूर्वको भ्रमण गरिरहेका अमेरिकी विदेशमन्त्री पोम्पेओले इरानको कडा आलोचना गर्नुभएको थियो । सो क्रममा विदेशमन्त्री पेम्पेओले इरानले नै छिमेकी देश यमनस्थित हुथी विद्रोहीहरूलाई हातहतियारसमेत उपलब्ध गराइरहेको आरोप पनि लगाउनुभएको समाचारमा जनाइएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनको सरकारलाई विगत लामो समयदेखि सहयोग दिँदै आएको छ । हुथी विद्रोहीहरू विरुद्धको युद्धमा इरानको भूमिका शंकास्पद रहेको अमेरिकी विदेशमन्त्रीको भनाइ थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मे १२ मा इरानमाथि आणविक हतियारसम्बन्धी प्रतिबन्ध लगाउने वा नलगाउने विषयमा घोषणा गर्ने अपेक्षा गरिएको छ ।
इरानमाथि पुनः प्रतिबन्ध लगाइएमा सन् २०१५ मा विश्वका छ शक्तिराष्ट्र र इरानबीच भएको महत्वपूर्ण आणविक सम्झौता उल्लङ्घन हुने खतरा रहेको बताइन्छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस