निर्वाचन ऐतिहासिक उपलब्धि : झलनाथ खनाल

विहीबार, २१ मंसिर २०७४, १२ : ३७
निर्वाचन ऐतिहासिक उपलब्धि  : झलनाथ खनाल

इलाम, २१ मंसिर । इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताउनुभएको छ ।

आज बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको आज हुँदै गरेको निर्वाचन हो, भन्नुभयो । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै नेता खनालले भन्नुभयो, “देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।”

“इलामको क्षेत्र नं १ मा बिहानैदेखि मतदाता लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरिरहेको देख्दा आफू ज्यादै हर्षित र गौरवान्वित भएको महसुश गरेको छ”, उहाँले भन्नुभयो, “यो निर्वाचन क्षेत्रमा वाम मोर्चाले सबै सिट जित्छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन पहिलो हुन्छ ।” आफ्नो निर्वाचन क्षेत्रमा करिब १० हजार मतले आफूले विजयी हासिल गर्ने उहाँले दाबी गर्नुभयो ।

त्यस्तैगरी पूर्वसभामुख सुवास नेम्वाङले मतदाताले इलाम क्षेत्र नं २ बाट आफूलाई विजयी गराउने बताउनुभएको छ । इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट बिहान पहिलो मतदान गर्नुहुँदै नेता नेम्वाङले संविधानको सफल कार्यान्वयनको यो निर्वाचन निक्कै महत्वपूर्ण र ऐतिहासिक उपलब्धिमा रहेको प्रतिक्रिया दिनुभयो । निर्वाचनपछि मुलुक समृद्धितर्फ उन्मुख हुने उहाँको धारणा थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लामा १४४ मतदानस्थलका २६६ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण तवरले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।(रासस)
 

 

प्रतिक्रिया दिनुहोस