सर्लाहीमा आगोले जलेर तीनजनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १० : ५५
सर्लाहीमा आगोले जलेर तीनजनाको मृत्यु

मलंगवा । सर्लाहीमा आगोले जलेर तीनजनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७, सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो ।

आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।

यसैगरी, सर्लाही सदरमुकाम मलंगवा–६, खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।