बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १४ : १७
बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले मंसिर ८ गते बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो । सर्वोच्च अदालत परिसरमा सोमबार भएको कोणसभामा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराको पालामा तीन वर्षलगातार अन्याय भएको बताए । उनले भने ,"फेरि एक वर्ष अन्याय हुन दिँदैनौं । गरिबका मुद्दा छोडेर के तपाई निरंकुश हो । के संविधानले निरंकुश हुने अधिकार दिएको छ ? तपाईंले विचौलिया भ्रष्टाचार चाहेको हो "?

गरिबका मुद्दा पन्छाएर बिचौलियाबाट करोडौं उठाएर धनीका मुद्दा हेरिरहेका छन् । अब सेवाग्राही अन्यायमा पर्दैन भनेर आवाज उठाएका छौं । ८३ हजार कानुन व्यवसायी छौं । ९० इकाइ आन्दोलनमा छन् । इकाइबाट सर्वोच्चमात्र होइन जिल्लामा पनि सुद्धीकरण अभियान चलाउने प्रस्ताव आएको छ । हामी अब ज्ञापनपत्र बुझाउन जाँदैछौं । भोलि पनि निरन्तर जारी रहन्छ । राजीनामा नआएसम्म जारी रहन्छ ।

यस्तै वरिष्ठ अधिवक्ता कमल कोइरालाले भने,  "प्रजातन्त्रदेखि गणतन्त्र आयो । तर, भ्रष्टाचार रोकिएन । यो देशव्यापी भ्रष्टाचार विरूद्वको आन्दोलन हो । आन्दोलनले प्रधानन्यायाधीशको अधिकार कटौती भयो । सेटिङ रोकियो । न्यायाधीशले नै स्वच्छाको अभियान थाले । गोलाप्रथा ल्याए । न्यायाधीशको पनि साथ छ । भ्रष्टाचारले अन्याय हुन्छ" ।

प्रतिक्रिया दिनुहोस