जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित पक्षलाई सभामुख सापकोटाको आग्रह

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १२ : ३८
जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित पक्षलाई सभामुख सापकोटाको आग्रह

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन । 

सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ-आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । शनिबार (आज) केन्द्रिय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे । 

सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने ‘मैले भनिहाले– यो हाम्रो नेपाल राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने कुरा मात्रै होईन । मैले अघि नै भने यो–सुशासनको लागि, समृद्धिका लागि, विकास निर्माणको लागि, हरेक कुराहरुका लागि चाँही धेरै महत्वपूर्ण छ । त्यसकारण हामी सबैले संकल्प गरौं–यो सुरु भएको गणनालाई सफलतापूर्वक हाम्रो राष्ट्रको आवश्यक्ता परिपूर्ति गर्नेगरी यसलाई सफल पार्नका लागि लागौं । र म पनि आफ्नो तर्फबाट सघाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

राष्ट्रपति विद्या भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गर्नु भएको ‘राष्ट्रिय जनगणना २०७८’ मंसीर ९ गते सम्पन्न हुनेछ ।‘मेरो गणना ः मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ । सभामुख सापकोटाले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन गणकहरुको परिचालनमा उचित ध्यान दिन पनि केन्द्रित तथ्यांक विभागका पदाधिकारीहरुलाई सचेत गराए । 

प्रतिक्रिया दिनुहोस