चितवन । जनकपुरमा गएराती राजपा नेपाल र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८ स्थित देबीचोकमा भेटिएपछि झडप भएको हो ।
कांग्रेसका कार्यकर्ताले मौनअवधिमा राजेन्द्र महतो पैसा बाँड्न हिडेको आरोप लगाउँदै अवरोध गरेपछि झडप भएको हो । तर, राजपाले भने कार्यकर्ता भेट्न र खाना खानका लागि निस्केको बेला कांग्रेस कार्यकर्ताबाट गुण्डागर्दी शैलीमा आक्रामण भएको आरोप लगाएको छ ।
राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले राती साढे ११ बजे देबी चोकमा जिल्ला नेता जीवनाथ चौधरी, सञ्जय शाहका कार्यकर्ता नवीन यादव, तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहलगायतले आक्रमण गरेको आरोप लगाए । त्यहाँ आफूहरु कुनै गलत मनसाय राखेर गएको नभई कार्यकर्ताको घरमा भेटघाट र खाना खानको लागिमात्रै गएको दाबी गरे ।
यस्तै कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाड्न महतोलगायतको टोली हिँडेको पाइएपछि आफूहरुले अवरोधमात्रै गरेको बताए । कांग्रेसका कार्यकर्ताको अवरोध र झडपपछि महतोलगायतका नेता कार्यकर्ता त्यहाँबाट भागेको बताइएको छ । धनुषा–३ मा महतो र कांग्रेसका विमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस