काठमाडौं जिल्ला प्रशासनको आदेश - सभाजुलुस, जात्रा, महोत्सव नगर्नू

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १२ : ४८
काठमाडौं जिल्ला प्रशासनको आदेश - सभाजुलुस, जात्रा, महोत्सव नगर्नू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको जोखिम कायम रहेको उल्लेख गदै भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न रोक लगाएको छ ।

बिहिबार एक आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राती १२ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म जिल्लाभित्र यस्ता कार्यमा रोक लगाएको जानकारी दिएका हुन् । न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन पनि प्रशासनले भनेको छ । 

मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ । सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरुमा पनि यो मापदण्ड पालना गर्न भनिएको छ ।

प्रशासनले नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भिडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधरण सचेत रहन अपिल गरेको छ । यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न र सवारी साधनको छतमा यात्रा नगर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस