नेपाल प्रवेश गर्न पाएनन् ‘द भ्वाइस अफ नेपाल’ विजेता किरण

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १७ : १२
नेपाल प्रवेश गर्न पाएनन् ‘द भ्वाइस अफ नेपाल’ विजेता किरण

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल -३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । 

गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको हो । अमेरिकी नागरिक गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले उनलाई अमेरिका फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ । 

नेपालको अध्यागमन कानुनअनुसार अमेरिकी नागरिकले एकपटकको प्रवेशमा जम्मा एक सय ८० दिन मात्रै नेपालमा बस्न पाउँछन् । गजमेरले सन् २०२१ मा सो अवधि बिताइसकेकाले उनी अब अझै तीन महिना नेपाल प्रवेश गर्न पाउने छैनन् । 

भुटानी शरणार्थीका रूपमा झापाको शरणार्थी शिविरमा बस्दै आएका  गजमेरलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०११ मा अमेरिका लगेको थियो । परिवारसहित अमेरिका बस्दै आएका गायक गजमेरले अमेरिकी भिसा प्रयोग गर्दै आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस