चितवन कांग्रेसकाे पालिका अधिवेशन : देउवा र पौडेल पक्षका तीन/तीन, एक तठस्थ

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १४ : ४३
चितवन कांग्रेसकाे पालिका अधिवेशन : देउवा र पौडेल पक्षका तीन/तीन, एक तठस्थ

चितवन  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका सात पालिकामा नयाँ नेतृत्व चयन भएकाे छ । सातमध्ये कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका तीन/तीन जना नगर सभापतिका उमेदवार निर्वाचित भएका छन् ।

जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनामा पौडेल पक्षका मानिएका कृतिकुमार श्रेष्ठ विजयी भएपनि उनले आइतबार एक विज्ञप्ती जारी गरी आफू कुनै पक्षमा नरहेको बताएका छन् । रत्ननगर, खैरहनी र राप्तीमा देउवा पक्षका उमेदवार निर्वाचित भए भने भरतपुर, कालिका र माडीमा पौडेल पक्षका उमेदवार निर्वाचित भए ।

आइतबार भएको निर्वाचनबाट भरतपुर महानगरपालिका नगर सभापतिमा चित्रसेन अधिकारी र रत्ननगर नगरपालिका नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन् । अधिकारी पौडेल पक्षका हुन् भने सापकोटा देउवा पक्षका हुन् । कांग्रेस भरतपुर नगर सभापतिका लागि भएको निर्वाचनमा पाँच प्रतिस्पर्धी भिडेका थिए । पाँच प्रतिस्पर्धीलाई हराउँदै चित्रसेन विजयी भएका हुन् ।

चित्रसेन अधिकारीले ६४९ मत प्राप्त गर्दा उनका उनका नजिकका प्रतिष्पर्धी भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९, वचन कार्कीले ७५ र अर्जुन रिजालले २६ मत प्राप्त गरे । नगर सभापतिमा निर्वाचित अधिकारी भरतपुर–२१ का वडाध्यक्ष समेत हुन् ।

नगर उप-सभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले निर्वाचित भए । उप-सभापतिको लागि ९ जना उमेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । सचिवमा प्रनिशा गुरू र कृष्ण बगाले विजयी भए । सचिव पदका लागि सात जना चुनावी प्रतिस्पर्धामा थिए । सह-सचिव पदमा उपेन्द्र पण्डित र कल्पना पौडेल निर्वाचित भए । सहऔ-सचिव पदका लागि आठ जनाको उमेदवारी थियो ।

कांग्रेस रत्ननगर नगर सभापतिमा निर्वाचित प्रल्हाद सापकोटाले २४६ मत प्राप्त गर्दा उनका नजिकका प्रतिष्पर्धी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे । उप–सभापतिमा अपिल अधिकारीले २४८ र कमलनाथ अधिकारीले २०० मत प्राप्त गरी निर्वाचित भए । सचिवमा अनिता अर्यालले २५९ र तिर्थराज सुवेदीले १८७ मत प्राप्त गरी विजयी भए । सह–सचिवमा रामचन्द्र पौडेलले २०५ र अमृत मल्ले १९४ मत प्राप्त गरी विजयी भएका हुन् ।

अन्य पाँच पालिकामा यसअघि नै निर्वाचन सम्पन्न भइसकेको हो । कांग्रेस खैरहनी नगरपालिकामा देउवा पक्षका गुणराज श्रेष्ठ र राप्ती नगरपालिकामा देवेन्द्र लामा निर्वाचित भएका हुन् । कालिका नगरपालिकामा पौडेल पक्षका दिपेश्वर केसी र माडी नगरपालिकामा कमलनाथ भुषाल विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस