मिथिला क्षेत्रमा जितिया पर्वको रौनक सुरु

रासस

शनिबार, ०९ असोज २०७८, १२ : ०६
मिथिला क्षेत्रमा जितिया पर्वको रौनक सुरु

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष सोह्रश्राद्ध सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर÷घरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ । 
 
असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । “हमर बेटा ककरो धारबिगार नई करैतअछि, भगवान् जितवाहन’क आशीर्वाद स हमर बेटा उपकारी बनत्” मेरो छोराले कसैको बिगार गर्दैन, भगवान् जितवाहन जितिया पर्वमा आराधना गरिने देवदूतको आशीर्वादले मेरो छोरा उपकार कार्यमा मन लगाउँछ व्रतको तयारीमा रहेका मिथिलानी मिथिलाका नारी आफ्ना पुत्रको प्रशंसामा यस्तै भनिरहेका भेटिन्छन् ।

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ दर खाएर अष्टमी तिथिको व्रत सुरु गरिन्छ । यस्तो ‘ओगट्न’ मध्यरातपूर्व नै खाइसक्नु पर्ने व्रत विधान रहेको वर्तालु बताउँछन् । ‘ओगट्न’ मा दहीचिउरा खाने चलनले अहिले मिथिलाका बस्ती÷बस्तीमा शुद्ध दूधको जोहोमा मिथिलानी लागी परेका देखिन्छन् । अघिल्लो मध्यरातपूर्व ‘ओगट्न’ खाएर सुरु गरिएको व्रत भोलिपल्ट नवमी तिथि सुरु भएपछि एकघडी कटाएर समापन गर्ने चलन छ ।

 पुत्रको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रतको विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यता छ । यो व्रत मङ्गलबार गर्ने तयारी छ । 

मङ्गलबार बिहान सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगट्न’ दर खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्नेछन् । अहोरात्र कटाएर नवमी तिथि पर्खदा ३६ घण्टासम्म उपवास गर्नुपर्ने यस व्रतको महिमा जनजिब्रोमा रहने गरेको मिथिला संस्कृतिका ज्ञाता बर्दिवास नगरपालिका–२ का दिनेशकुमार झा बताउँछन। यसपालि मङ्गलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ । 

“सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर प्राप्त हुने वा भएको मैथिल हिन्दू जनविश्वास छ”, उनले भने । पुत्रको कल्याण र सौर्यवृद्धिको कामना पूरा गराउन पुत्रवती मिथिलानी मिथिलाका नारीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन् । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको जितिया व्रत बस्दै आउनुभएकी भङ्गाहा नगरपालिका–६ मदनपट्टि थारु बस्तीकी ४० वर्षीया रामरती चौधरीले बताईन ।

पर्वमा सप्तमीका दिन निराहार व्रतको एक दिन पहिले बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासू, जेठानी, नन्द–आमाज्यू र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ । यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिन्छ । ति सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र नाति, प्रपौत्र पनाति र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ ।

 मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिँदै आएको यस पर्वबारे पछिल्लो पुस्ता अनविज्ञ हुँदै गएको छ । पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्यवृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्तामाझ सुनिन थालेको छ । पहिला आमाले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर विभेद घुसाइएको बर्दिवास नगरपालिका–९ का सामाजिक र राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउछन । आफूले पछिल्ला २५ वर्षदेखि सुरु गरेको यस  पर्वमा ‘पुत्र’का लागि मात्र नभएर हरेक सन्तानको कल्याणका लागि गर्दै आएको उनको भनाइ छ । 

     

प्रतिक्रिया दिनुहोस