काठमाडौँ । सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा कृष्ण पौड्यालले जानकारी दिए ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए । ४० वर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए ।
उनले पूर्व रोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुरक्षाका लागि ध्यान दिएको जानकारी गराए । सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १८ : ४०
लेखकबाट थप