समाजवादीका नेता  किसान श्रेष्ठ भन्छन् -‘गण्डकीमा ऐमालेसंग लड्न एक्लै काफी छु’

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १७ : २६
समाजवादीका नेता  किसान श्रेष्ठ भन्छन् -‘गण्डकीमा ऐमालेसंग लड्न एक्लै काफी छु’

गण्डकी । नेपाल एकिकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले गण्डकीमा एमालेसंग लड्नका लागि आफु एक्लै काफी भएको बताएका छन् । प्रदेश कमिटी कार्यालय स्थापनापछि पोखरामा भएको भेलालाई सम्बोधन गर्दै उनले आफू एक्लै भए पनि गण्डकीमा एमालेको लागि भारी पर्ने दाबी गरेका हुन् ।

‘अब हामी देखाइदिन्छौं, एकीकृत समाजवादी गण्डकीमा के छ भनेर ।’ उनले भने ‘यो पार्टीमा गण्डकीबाट म मात्रै निर्वाचित सांसद छु । उनीहरू १४ जना छन्, उनीहरूका लागि म एक्लै भारी पर्ने छ ।’

सबैको समस्या आफूहरूले समाधान गर्ने उनको दाबी छ । उनले समाजवादी पार्टी गण्डकीमा बलियो रहेको बताए । ‘केही दिन अगाडि एमाले अध्यक्ष पोखरामा आएर तामझामका साथ कार्यक्रम गरेर जानुभयो । त्यो कार्यक्रममा गण्डकीका सबै जिल्लाबाट कति उपस्थित थिए ?,’ उनी भन्छन्, ‘आज कास्कीको मात्रै नेता कार्यकर्ता भेला हुँदा हेर्नुस् त कति छन् । आजदेखि समाजवादीले बिगुल फुक्यो ।’

आफू बीसौं वर्ष ओली गुटमा रहेकोमा अहिले आएर पश्चाताप लागेको उनले सुनाए । ‘बीसौं वर्ष उता लागें । दुईपटकसम्म संसद् विघटन गर्दा पनि साथ दिइरहें,’ श्रेष्ठ भन्छन्, ‘असारमा आएपछि मैले गल्ती गरेको रहेछु भन्ने महसुस भयो । त्यसैले शेरबहादुर देउवालाई विश्वासको मत दिएँ । संविधानको पक्षमा उभिएँ ।’

एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान) । तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् । त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै भारी भए ।

किसान अहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । 

प्रतिक्रिया दिनुहोस