राजपा नेपालले मनायो स्थापना दिवस

शुक्रबार, ०७ बैशाख २०७५, १७ : ११
राजपा नेपालले मनायो स्थापना दिवस


चितवन । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला तदर्थ समिति कार्यालय चितवनले शुक्रबार पार्टीको स्थापना दिवस मनाएको हो । भरतपुर १२ मा रहेको पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी स्थापना दिवसको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान गरिएको थियो । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यालय चितवनका अध्यक्ष प्रेमकुमार श्रेष्ठले व्यक्ति भन्दा पार्टी महत्वपूर्ण भएकोले पार्टीको नीति र निर्देशन अनुसार सबैजना चल्नुपर्ने बताए ।

मुलुकको चौथो ठूलो शक्तिको रुपमा रहेको राजपा नेपालले सिमित जाति र वर्गको मात्रै हितलाई नहेरी राष्ट्रिय राजनीतिमा आफ्नो पहुँच बढाउने श्रेष्ठको भनाइ थियो । राजनीतिबाट मात्रै मुलुक र जनताको विकास हुने भएकाले राजपा नेपालका कार्यकर्ताहरु कर्तव्यनिष्ठ हुँदै समाज सेवामा लाग्नुपर्ने श्रेष्ठको भनाइ थियो । पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला उपाध्यक्ष खुसीलाल थिङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीकी कोषाध्यक्ष इलिमा मियाले महिला तथा पिछडिएका वर्गको हक हितको लागि राजपाले आवाज बुलन्द गर्ने बताइन्  ।

 

प्रतिक्रिया दिनुहोस