पाटेबाघ मृत फेला

सामुदायिक वनमा दुर्लभ पाटेबाघ मृत फेला

शुक्रबार, ०७ बैशाख २०७५, १६ : ०९
सामुदायिक वनमा दुर्लभ पाटेबाघ मृत फेला

फाइल फोटो

चितवन । चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उहाँले अर्काे बाघसँग जुधेर घाइते भएको र त्यही संक्रमणले मरेको आशंका गरिएको बताउनुभयो । यसअघि हिजो उसले एउटा बँदेल समेत मारेर खाएको थियो । मरेको बाघको नमूना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको पौडेलले जानकारी दिनुभयो ।

अरु नै कारण भए परीक्षणपछि मात्र यकिन हुने उहाँको भनाइ छ । पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो । यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो । चैत र वैशाखमा मात्रै चितवनमा तीनवटा बाघ मरिसकेको छ ।
(रासस)

प्रतिक्रिया दिनुहोस