आयोगमा शिक्षा र स्थानीय तहका उजुरी बढी

शुक्रबार, ०७ बैशाख २०७५, १३ : ५६
आयोगमा शिक्षा र स्थानीय तहका उजुरी बढी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी शिक्षा र स्थानीय तहका क्षेत्रका उजुरी पर्ने गरेका छन् । गतवर्षमा सबभन्दा बढी शिक्षाका एक हजार ५२६ र स्थानीय तहका एक हजार २९७ उजुरी परेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताउनुभयो । उहाँका अनुसार शिक्षामा शिक्षक नियुक्ति, विद्यालयको भौतिक पूर्वाधार, नक्कली शिक्षकका उजुरी पर्ने गरेका छन् । यस्तै जनप्रतिनिधि आइसकेपछि स्थानीय तहका सम्बन्धमा पनि आयोगमा उजुरी पर्ने गरेका छन् ।

प्रवक्ता मैनालीले स्थानीय तहका सेवा प्रभाव, राजश्वमा अनियमितता, कर्मचारीको ढिलासुस्ती, नक्सापासजस्ता उजुरी पर्ने गरेको बताउनुभयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि बढी उजुरी परेको बताउनुभयो । आयोगले ती उजुरीका सम्बन्धमा अनुसन्धान जारी राखेको उहाँले बताउनुभयो ।

यस्तै आयोग स्थानीय जनप्रतिनिधिलाई सुशासन र भ्रष्टाचारका सम्बन्धमा अभिमुखीकरण तालीम सञ्चालन गर्न थालेको छ । स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नका लागि अभिमुखीकरण गरिएको प्रवक्ता मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १ र २ मा सकिएको छ भने बाँकी प्रदेशमा यसै महिनाभित्र सकिने छ । (रासस)

प्रतिक्रिया दिनुहोस