ओलीले लोकतन्त्रलाई समाप्त पार्ने प्रयास गरे : अध्यक्ष यादव

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १३ : ०४
ओलीले लोकतन्त्रलाई समाप्त पार्ने प्रयास गरे : अध्यक्ष यादव

पर्सा । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रकै शैलीमा देश चलाउन खोजेको आरोप लगाएका छन ।

जसपले शनिबार वीरगञ्जमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्रलाई समाप्त पर्ने प्रयास गरेको बताए। विश्व इतिहासमै पहिलो पटक बहुमतको सरकारले दुई पटक संसद विघटन गरेको अध्यक्ष यादवको भनाइ थियो ।

उहाँले जसपाबाट फुटेर गएका महन्थ ठाकुर समूह प्रतिगमनकारी ओली सरकारमा सहभागी भई त्यसको मतियार बनेको आरोप पनि लगाए । प्रतिगमनलाई साथ दिँदा ठकुर समूह दल बिहिनको अवस्थामा पुगेको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने ओलीको षड्यन्त्रमा साथ दिएको ठाकुर पक्षलाई अध्यादेशले उद्धार गरेको अध्यक्ष यादवको भनाइ थियो ।

ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०मा दुई चार जना अवसरवादीहरू मात्रै गएको अध्यक्ष यादवले बताए । पूर्व राष्ट्रिय जनता पार्टी राजपाका ८० प्रतिशल आफ्नै पार्टी बसेको दावी गर्नुहुँदै जसपा अझ बलियो भएको बताए।

यसैगरी जसपाका वरिष्ठ नेता अशोक राईले पार्टीलाई शसक्त बनाउन नयाँ उत्साहका साथ संगठन निर्माणमा लाग्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

जसपा पूर्वमन्त्री रेणु यादवले ठाकुर पक्षलाई नटवरलालको संज्ञा दिँदै मधेसी जनताको भवना कुल्चिएर पदको लोभमा ओलीको सरकारमा सहभागी भएको आरोप लगाए ।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई बलियो बनाई मुलुकको वैकल्पीक शक्तिको रुपमा स्थापित गर्ने उदेश्यले जसपाले सातै प्रदेश अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत शनिबार वीरगञ्जमा जसपाले अभिमुखिकरण कार्यक्रम गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता महेन्द्र राय यादव, रामसहाय यादव, प्रदिप यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बारा, पर्सा, रौतहटका नेता तथा कार्यकर्ता सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण जसपा पर्साका अध्यक्ष रामनरेश यादवले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस