काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ। शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको छ ।
महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पङ्क्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पङ्क्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।
नेता सिंहले भने, ‘क्रियाशील सदस्यहरुको विवादसम्बन्धी बाँकी काम पनि विधि र नियम पूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिजीसँग कुरा भएको छ । र त्यसैअनुसार अघि बढिनेछ । आजै यो बैठकबाट रिले अनसनमा बसिरहेका जिल्ला सभापतिजीहरुको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनसन तोडाउने निर्णय गरिएको छ । अब महाधिवेशनका लागि सबैले एकजुट भएर काँग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति पनि गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, १७ : ४१
लेखकबाट थप