आक्रमणबाट बिचलित हुँदैनौ : एमाले नेता बस्नेत

सोमबार, १८ मंसिर २०७४, १८ : ००
आक्रमणबाट बिचलित हुँदैनौ : एमाले नेता बस्नेत

भक्तपुर । पूर्वउद्योगमन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले चुनावमा बम आक्रमण गरी आतंक फैलाउने षड्यन्त्रकारीबाट कोही पनि विचलित नहुने बताएका छन् ।  वाम गठबन्धनले आज स्थानीय कटुञ्जेमा आयोजना गरेको चुनावी सभामा प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका उनले चुनाव भाँड्ने षड्यन्त्र अब सफल नहुने बताए ।

उनले भने, “लगातार चुनावीसभा र चुनाव प्रचारका क्रममा बम आक्रमण भइरहेको छ, नेताको घर र गाडीमा समेत बम राखेर आतंकित पार्ने प्रयास भइरहेको छ, हिजो (आइतबार) राति मेरो घरको गेटमा समेत बम राखियो, यस्ता आतंकित पार्ने कार्य कायरताको उपज हो ।”

उनले चुनावमा मतदान गर्न मतदाता व्यग्र भएको र उम्मेदवारहरु पनि अन्तिम प्रचारमा जुटेको बताउँदै बम आक्रमणले मतदाता र उम्मेदवार विचलित नभई चुनाव सफल पार्ने विश्वास व्यक्त गरे ।

बस्नेतले आफू भक्तपुरका जनताको गोठालो भएर चुनावी मैदानमा आएको बताउँदै चुनाव जितेमा जिल्ल्लाको विकासमा जीवन अझै समर्पण गर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार शशीजंग थापाले भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस