नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

रासस

सोमबार, ०७ भदौ २०७८, १४ : १९
नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौं । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् युएईमा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन। 

युएईमा भइरहेको एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए। शेर्पाले आज सेमिफाइनल खेल्नेछन । 

यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेका छन । उनी  सम्मिलित स्पर्धामा कूल चार खेलाडी मात्र सहभागी भएका छन। प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन। 

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन। प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस