पक्षपातरहित भएर पुनःनिर्माणको काम गर्न निर्देशन

सोमबार, १८ मंसिर २०७४, १५ : ४९
पक्षपातरहित भएर पुनःनिर्माणको काम गर्न निर्देशन

काठमाडौँ, १८ मंसिर । भूकम्प प्रभावित ३१ जिल्लामा जाने नवनियुक्त इञ्जिनियर तथा सव इञ्जिनियरले शपथ लिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सव इञ्जिनियरले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालबाट आइतबार शपथ लिनुभएको हो । ईश्वर र कुलदेवताको नाममा नवनियुक्त प्रविधिज्ञलाई भुसालले शपथ गराउनुभयो ।
 
 शपथ समारोहलाई सम्बोधन गर्दै उहाँले भूकम्प प्रभावित जनताको आँसु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्य क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न नवनियुक्त प्रविधिज्ञहरुलाई आग्रह गर्नुभयो । “सेवाभावले भूकम्प प्रभावित क्षेत्रमा अहोरात्र खटेर काम गर्नुस्, मानवीय सेवामा पक्षपात नगरी काम गरौँ, इञ्जिनियरको सुरक्षाका लागि बीमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मेवारी सरकारले गर्ने भएकाले ढुक्क भएर काम गर्नुस्”– उहाँले भन्नुभयो ।  

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्राधिकरणका कार्यकारी सदस्य डा. हरिराम पराजुली, प्रवक्ता यमलाल भुसाल, शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख तपेन्द्रबहादुर खड्कालगायतले कार्य क्षेत्रमा जाने तयारीमा रहेका नवनियुक्त प्रविधिज्ञलाई  पुनःनिर्माणको जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्न आग्रह गर्नुभयो । भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटा स्थानीय तहमा परिचालन हुने प्रविधिज्ञले प्रत्येक वडामा निजी आवास पुनःनिर्माणका लागि सहयोग गर्नेछन् ।(रासस)
 

 

प्रतिक्रिया दिनुहोस