विद्यार्थी संघ र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले गरे लुम्बिनी क्याम्पसमा तोडफोड

सफल खबर संवाददाता

मंगलबार, २६ साउन २०७८, ११ : ००
विद्यार्थी संघ र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले गरे लुम्बिनी क्याम्पसमा तोडफोड

बुटवल । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरूले तोडफोड गरेका छन् । क्याम्पस प्रशासनका अनुसार आज बिहानै २०,२२ वटा मोटरसाइकलमा गएका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले क्याम्पसको प्रशासनिक भवन तोडफोड गरेको जनाएको छ ।

उनिहरूले क्याम्पसको प्रवेशद्धारसँगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा, परीक्षा शाखालगायतका शाखाहरूमा तोडफोड गरेको क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले जानकारी दिए । लेखा शाखा र परिक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्नुको साथै महत्वपूर्ण कागजातहरू छरपस्ट पारेर भागेको उनले जानकारी दिए ।

यसअघि साउनको ८ गते नै लुम्बिनी बाणिज्य क्याम्पसमा चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दबाब दिँदै आन्दोलन गर्दै आएका थिए ।

क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसको पठनपाठन हुनुपर्ने, एमबीए, बीबीए, एमबीएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस