पर्सामा आपराधिक घटना बढे

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १२ : ०६
पर्सामा आपराधिक घटना बढे

पर्सा । पर्सामा एक वर्षको अवधिमा आपराधिक घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १ हजार १ सय ७३ वटा विभिन्न किसिमका अपराधका घटना दर्ता भएका छन् ।

आव २०७६/७७ मा यस्ता १ हजार ८१ वटा घटना दर्ता भएका थिए । गत आवमा कर्तव्य ज्यानका १७, ज्यान मार्ने उद्योगका ३५, सवारी ज्यान अपराधका ३२, लागूऔषधका १ सय ३३ वटा घटना दर्ता भएका छन् । अघिल्लो आवमा कर्तव्य ज्यानका १५, ज्यान मार्ने उद्योगका ३०, सवारी ज्यान अपराधका २० र लागूऔषधका १ सय ११ वटा घटना भएका थिए ।

प्रहरी तथ्यांकअनुसार गत आवमा ७८ फरार प्रतिवादी र ८० फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरूबाट ९६ वर्ष ६ महिना २२ दिन कैद सजाय र ७१ लाख ८६ हजार ६ सय ९७ रुपैयाँ जरिवाना असुल भएको छ । निषेधाज्ञाका कारण रोजगारी गुम्ने, डिप्रेसन आदि कारणले अपराध बढेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनाल बताउँछन् ।

‘अपराध बढ्नुमा कुनै एउटै खास कारण हुँदैन । सामाजिक परिवेश, बेरोजगारी, आदि कारण हुन सक्छन्,’ उनले भने, ‘इन्टरनेट तथा मोबाइलको बढ्दो प्रयोगले साइबर तथा ठगी अपराध पनि बढ्दो छ ।’

प्रतिक्रिया दिनुहोस