एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १४ : ३४
एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन

चितवन । एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिको आव्हानमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले एमसीसी खारेज गर, नो एमसीसी, एमसीसी इज अ क्यान्सर, एमसीसी गेट आउट लेखिएका प्ले कार्डसहित सहभागी भएका थिए । केन्द्रीय बस ट्रमिनल, चौविसकोठी, लायन्स चोकसम्मको र्‍यालीमा सामना र रक्तिम सांस्कृतिक परिवारले एमसीसी खारेजीको मागसहित सांगितिक कार्यक्रम प्रस्तुत गरे ।

कोणसभा बोल्दै वामवुद्दीजीवी प्रेम रिमालले एमसीसी संसदमै प्रवेश गराउन नहुने बताए । ‘यो परियोजना सिनोजस्तो हो, संसदको भान्सामा लानु आवश्यक छैन’, उनले भने, ‘यदी एमसीसी पास भएमा नेताहरूलाई गाउँगाउँबाट लखेट्नुपर्छ ।’

मोहन वैद्य नेतृत्वको माओवादी केन्द्र चितवनका सेक्रेटरी अशोक शर्माले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । संघर्ष समितिका सचिव अजिव पौडेलले एमसीसी खारेजी अभियानमा १० राजनीतिक दलको समेत समर्थन रहेको बताए ।

संयोजक फणीन्द्र आचार्यले अमेरिकी सेना भित्र्याएर नेपालको सार्वभौमिकतामाथि एमसीसी परियोजनाले प्रहार गर्न खोजेकाले तत्कालै खारेज गर्नुपर्ने दावी गरे । संघर्ष समितिले साउन २५ गते जिसस सभाहलमा दिउँसो २ बजे एमसीसी खारेजीका लागि अन्तर्क्रिया गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस