काठमाडौं । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
उनले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए। महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, सम्वद्र्धन र उत्थानमा महासङ्घले निरन्तर काम गरिरहेको जनाउँदै स्रष्टाको वृत्तिविकास र सम्मानमा कुनै कमि नराखिने बताए ।
नेकपा एमाले अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले खनाल कुशल कलाकारका रुपमा स्थापित भइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुति पस्कन आग्रह गरे । समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारलाई उचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिब एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ ।
गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय, शब्द खनालकै छ भने एरेञ्ज काउछाले गरेका छन । गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गरेका छन । भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले समेत अभिनय गरेका छन । गीतलाई मञ्जरी क्रियशन युटुब च्यानलबाट बजारमा ल्याइएको हो ।
खनालका यसअघि ‘जुनीजुनी सँगै बाचौँला’, ‘ऋण बढेर दोब्बर भइसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ र ‘के जवाना आयो बरिलै’ बजारमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ साउन २०७८, ११ : ५७
लेखकबाट थप