तुइन काँटिदा युवक बेपत्ता : सुरक्षा अधिकारीहरु घटनास्थलतर्फ

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १९ : ३४
तुइन काँटिदा युवक बेपत्ता : सुरक्षा अधिकारीहरु घटनास्थलतर्फ

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको खबरपछि दार्चुला सदरमुकामबाट सुरक्षा अधिकारीहरु घटनास्थलतर्फ लागेका छन्। 

वैदेशिक रोजगारीका लागि भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउने क्रममा एसएसबीले तुइन काटिदिएपछि महाकाली खसेर बेपत्ता भएका ब्यास गाउँपालिका २ का ३५ वर्षीय युवक जयसिंह धामीको अवस्था अझै खुल्न सकेको छैन। 

महाकालीमा ठूलो बाढी आएकाले उनी जीवितै भेटिने सम्भावना अत्यन्तै कम रहेको छ। नेपाली युवक महाकालीमा खसेर बेपत्ता भएको घटनाको अध्ययन गर्न सदरमुकामबाट तीनवटा सुरक्षा निकायका अधिकारी घटनास्थल गएका हुन्। 

सशस्त्र प्रहरी बल गण नम्बर–४४,  जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलतर्फ गइसकेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले जानकारी दिएकी छन्। 

जोशीका अनुसार उक्त घटनाबारे सत्यतथ्य जानकारी लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भारतीय पक्षलाई पत्र पठाइसकिएको छ। 

प्रतिक्रिया दिनुहोस