अक्षय तृतीयाको अघिल्लो दिन महाशिवपुराण र महायज्ञ

शनिबार, ०१ बैशाख २०७५, १६ : ५४
अक्षय तृतीयाको अघिल्लो दिन महाशिवपुराण र महायज्ञ

चितवन । आध्यात्मिक जागरण, सामाजिक सद्भाव र विकासका लागि भरतपुर महानगरपालिका वडा नम्बर १५ गोपालगञ्जमा रहेको सिद्धकामेश्वर शिवालय मन्दिरले वैशाख ४ गतेदेखि बृहत महाशिवपुराण तथा धनधान्यान्चल महायज्ञ आयोजना गर्ने भएको छ ।
मन्दिर परिसरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवीरमण अधिकारीले महायज्ञबाट ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको बताउनु भयो । उहाँले संकलित रकमबाट वृद्धाश्रम र सभाहल निर्माणको गुरुयोजना बनाइने, एक सय आठ शिवलिंग रहेको ठाउँमा छानो हाल्ने, सत्संग भवनलाई व्यवस्थित गरिने जानकारी दिनुभयो ।
२०५५ सालबाट निर्माण कार्य सुरु गरिएको शिवालय २०५८ सालको अक्षयतृतीयाको दिन उद्घाटन गरिएको थियो । गतवर्ष चैतमा जिल्ला प्रशासन कार्यालयमा ट्रष्टका रुपमा दर्ता गरिएको मन्दिरले १२ करोड रुपैयाँको गुरुयोजना अघि सारेको छ । स्थानीय आमा समूहको ६ लाख रुपैयाँ र सरकारबाट प्राप्त तीन लाख रुपैयाँ खर्च गरेर मन्दिर परिसरमा एक सय आठ शिवलिंग स्थापना गरिएको छ ।
आधारभुत विद्यालय गोपालगञ्जको साढे चार बिघा जमिनमध्ये १० कठ्ठाको भोगाधिकार लिएर मन्दिर निर्माण गरिएको छ । मन्दिर परिसरमा वृद्धाश्रम, सभाहल र धार्मिक वाटिका निर्माण गर्ने गुरुयोजना तयार पारिएको छ । वैशाख चार गते सुरु हुने महायज्ञमा पाँच गते अक्षयतृतीयाको दिन एक सय आठ शिवलिंग पुज्ने कार्यक्रम रहेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवीरमण अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा समितिका उपसचिव कृष्णप्रसाद दवाडी, परोपकार आमा समूहकी अध्यक्ष हरिमाया बास्तोला, नेकपा माओवादी केन्द्रका शालिकराम पौडेल, नेपाली काँग्रेसका धर्मराज आचार्य लगायतले महायज्ञको आयोजनाबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस