काठमाडौं । शुक्रवार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन ।
विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सिमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सिमित हुन पुगेको छ ।
विगत जस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने बाहेक सहभागिता उपलब्धी बिहीन बन्यो । गत संस्करणकै जसरी खेलाडीको भन्दा धेरै भ्रमण गर्न जाने जम्बो टोलीको विषयले चर्चा पायो । असम्बन्धित पदाधिकारीले शयर गर्दा नेपाल ओलम्पिक कमिटी चर्को आलोचनामा परेको छ । यस पटक पनि नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्ड भन्दा माथि उठ्न सकेन ।
ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिष्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दीपक बिष्ट बाहेक अन्य अघिल्लो चरण प्रवेश गरेका छैनन् । संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक बिष्टले छनोट चरण पार गरेका थिए । के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सिमित हुने हो ? खेलकुद विज्ञ सुशिल नरसिंह राणालाई सोधका छौं । न्यूज एजेन्सी नेपालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।
नेपालले ओलम्पिक प्रतिष्पर्धामा सधैँ सहभागितामै चित्त बुझाउनु पर्ने हो ?
यो आम मानिसको प्रश्न हो । नेपालले ओलम्पिक सहभागिता सधँै जनाउने गरे पनि पहिलो चरण भन्दा दोस्रो चरण पार गर्न सकेको छैन । यो संस्करणको सहभागिता पनि औपचारिकतामा सिमित भएको छ । आगामी तीन÷चार वटा ओलम्पिक पनि अझै सहभागितामा मात्रा सिमित हुनेछन् । ओलम्पिकमा सहभागी बनेर फर्किएपछि हामी सुध्रिन सकेनौं भने नेपालको सम्भावना अझै कमजोर नै छ । पुरानो सोचलाई नै हाबी हुन दिने हो भने ६ दशकको यात्रा औपचारिकतामा सिमित छ । आगामी ६ दशक पनि यस्तै हुनेछ । किनभने हाम्रो कर्मचारी तन्त्रले खेलकुद के भन्ने बुझेको छैन । अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी जस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नु पर्ने हो उनीहरु राजनीतिको स्वार्थमा पनि तल्लिन छन् । जबसम्म राजनीति र स्वार्थको खेल खेलुकदमा हाबी हुन्छ परिवर्तन २० औं वर्षसम्म पनि हुँदैन । खेलकुदले छलाङ मार्न सक्दैन । अर्को आधा शताब्दीमा पनि सम्भव हुँदैन ।
खेलकुदमा राजनीति हाबी भइरहँदा खेलाडी उत्पादन क्षेत्रमा राजनीतिक व्यक्तिहरुले खेलकुद विज्ञलाई किन खेलाडी उत्पादन गर्ने जिम्मेवारी दिइँदैन ?
नेपाली खेलकुदमा धेरै विज्ञ मानिसहरु छन् । अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्रयाट (प्राविधिक) पनि छन् । तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन् । अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठ भूमिको हुन्छ । उनीहरुको ध्यान पद मात्र लिने रहन्छ । त्यस्ता व्यक्तिहरुसँग खेलकुद विकास गर्नका लागि कुैन पनि योजना छैनन् ।
सरकार कसको छ त्यस निकटका व्यक्तिहरु नेतृत्व गर्न आउँछन् । अहिलेको सदस्य सचिव (रमेश कुमार सिलवाल) आउनु भन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य सचिव आउने आश गरेका थिए । तर अन्तिम राजनीतिक क्षेत्रमा जसको बढी पहुँच भएको व्यक्ति थियो उ नै नेतृत्वमा आए । यस्तै नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ । उनीहरुको ध्यान कसरी विवाद रहित कार्यकाल सकाउनेमा मात्र ध्यान हुन्छ ।
उनीहरुसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन । खेलकुद विकासका लागि सोच्ने फुर्सद नै हुँदैन । ओलम्पिककै कुरा गर्नु पर्दा यो वृहत क्षेत्र हो । यसमा पुग्नका लागि दीर्घकालिन योजना निकै नै अपरिहार्य छ । अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालिन योजनमा अघि बढेको देखिँदैन । सधँै केही महिनाको तयारी र सहभागिता मात्र हुँदै आएको छ । केही महिनाको तयारीमा हामी साफ, एशियन गेम्स खेल्दै आएका छौं । तर ओलम्पिक भनेको वृहत क्षेत्र हो । यो छोटो र अल्पकालिन योजनाले सम्भव छैन । दीर्घकालिन योजना बनाएर युथ एथ्लिट्सहरुलाई अभ्यास दिलाउँदै उनीहरुको खेललाई निखार्ने हो भने मात्र नेपालको सम्भावना छ ।
यतिका विषयमा ध्यान दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले दिएको कार्यक्रममा सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले बुझ्न सकेको छैन । राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता अहिले नेपाल सरकारले गराउँदै आएको छ । जसमा नयाँ खेलकुदमा लाग्ने खेलाडीले सहभागिता जनाउँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गराएका हुन्छन् । तर सम्बिन्धित संघ अथवा खेलकुद क्षेत्रले उनीहरुलको प्रदर्शनलाई कहिल्यै पनि नियाल्न सकेको छैन । साँच्चिकै प्रतिभावन खेलाडी जो खेलकुदमा केही गर्न चाहेका हुन्छन् उनीहरु प्रति कोही पनि जवाफदेही छैनन् । हामी यस्तो सोचबाट धेरै नै टाढा छौं । रातारात कोही पनि पूर्ण खेलाडी बन्न सक्दैन । हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन् उनीहरुको खेल करियर कलिलै उमेरबाट शुरु भएको देख्न सकिन्छ । त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ ।
दीर्घकालिन ढंगबाट खेल क्षेत्र अघि बढाउन के–के विषयमा ध्यान दिन जरुरी छ ?
दीर्घकालिन ढंगबाट अगाडि बढ्नका लागि योजना मात्र बनाएर सम्भव हुन सकेन । योजनालाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागि परे पनि सम्भव छ । बनाएका योजना कार्यान्वयन गर्ने सोचको अभाव रहुन्जेलसम्म योजना बनाए पनि काम छैन । पोलिस लेभलमा नै बन्न सकेको छैन । बनेको खण्डमा कार्यान्वयन गर्ने त संघ छन् । अहिलेको अवस्थामा कुनै पनि योजना बन्न सकेका छैनन् । सम्बन्धित संघ पनि सुस्ताएको अवस्था छ । कति संघले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन् । अझै महामारीले गर्दा त्यस्ता संघहरुलाई फाइदा मिलेको छ । अभ्यास गर्ने स्थल बन्द भएको बाहना संघलाई मिलेको छ । खेलाडीमा अहिले केवल नैराश्यता मात्र छाएको छ । खेलेर जीविका सञ्चालन गर्न कठीन हुने खेलाडीले बुझिसेका छन् । खेलकुद क्षेत्रमा चिनिएका तथा उदाउँदै गरेको खेलाडीको अवस्था कस्तो होला ? यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन ।
ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६÷२७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता, यस विषयमा सधैँ आलोचना हुँदै आएको छ, यसलाई कसरी विश्लेषण गर्ने ?
बास्तवमा यो निकै नै अस्वभाविक विषय हो । हिसाबकितावकै आधारलाई मान्ने हो भने पाँच जना प्रशिक्षक, पाँच जना पदाधिकारी भए पुग्ने थियो । जम्बो टोलीको आवश्यक छैन । अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लो स्तरका छन् । उनीहरुका लागि भ्रमण ठूलो विषय पनि होइन । लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लग्नु पर्ने थियो । पदाधिकारीलाई लग्नु अहिलेको अवस्थामा अलि अस्वभाविक भएको मात्र हो । यसरी ठूलो संख्यामा पदाधिकारीलाई शयर गराउनुले जनमानसमा राम्रो सन्देश जाँदैन । खेलकुदमा नराम्रो सन्देश जान्छ । अनि अभिभावकको विश्वास नै टुट्छ । मैले किन मेरो बालबच्चा खेलक्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ । कसरी लगानी गर्ने प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन् । ठूलो जमातलाई नै यो किसिमको क्रियाकलापले खेल क्षेत्रमा लागेका खेलाडीलाई भड्काइरहेका छौं । त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ साउन २०७८, १२ : ०२
लेखकबाट थप