गोरखामा जनप्रतिनिधि र स्थानीयद्वारा सडकमै कोदो रोपेर विरोध

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १३ : ४०
गोरखामा जनप्रतिनिधि र स्थानीयद्वारा सडकमै कोदो रोपेर विरोध

गोरखा । सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् । गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर विरोध जनाएका हुन् ।

सडक हिलाम्मे भएर सवारी आवागमन असहज हुदा पनि ठेकेदारले मर्मतमा चासो नदिएको उनीहरुको गुनासो छ । प्ले कार्डसहित उनीहरु विरोधमा थिए । उनीहरुले बोकेको प्ले कार्डमा ‘ठेकेदार बाटो हिड्न सहज बनाइदेऊ’, ‘ठेकेदार कहाँ सुतेका छौ, उत्तरी गोरखा जाने मूल सडकको बिचल्ली पारेर’, ‘ठेकेदार आज यहाँ आउ बाटो हेर्न, कहाँ गयौ सर्वसाधारणको बिचल्ली पारेर’ जस्ता नारा लेखिएको थियो।

‘सांकेतिक रुपमा बिरोध स्वरुप आज कोदो रोप्यौ,’ वडा नम्वर ४ का अध्यक्ष खोप बहादुर अधिकारीले भने, ‘अझ पनि बाटो मर्मत भएन भने प्रशासन र पूर्वाधार कार्यालयमा गएर आन्दोलन गर्छौ ।’

प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयलाई समेत जानकारी गराइसकेको बताउदै उनले भने, ‘आज बेलुकीसम्म ठेकेदार उपस्थित भएर सडक मर्मतको काम शुरु गरेन भने हामी थप आन्दोलन गर्नेछौ ।’ सडक मर्मत गरेर सवारी आवागमन सहज बनाइदिनुपर्ने उनीहरुको माग छ ।

हिलाम्मे सडकका कारण धेरै सवारीहरु त्यहा फस्ने गरेका छन् । एम्वुलेन्स र चार पाङ्ग्रे साना सवारी आउजाउ गर्न सक्ने अवस्था छैन । यात्रुवाहक बसलाइ पनि एक्साभेटर वा ट्याक्टरले तान्नुपर्ने बाध्यता छ । बिहीवार पनि एक्साभेटरको सहयोगमा वसहरु पार गराइएको ग्रामिण सडकमा सेवा दिदै आएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका महासचिव अन्जन खत्रीले बताए ।

‘त्यो सडकले गर्दा दिनमा गाडीको कम्तिमा दुईवटा टायर जान्छ, क्लज प्लेट र प्रेसर प्लेटको त कुरै नगरौ, गाडीलाइ लोड उस्तै,’ उनले भने । बिहान ६ बजे छुटेको गाडी दिनभर त्यही फस्ने गरेको उनी बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस