सत्ता गठबन्धनका कार्यदलसहित शीर्ष नेताहरुको बैठक बस्दैं

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, ०८ : ३१
सत्ता गठबन्धनका कार्यदलसहित शीर्ष नेताहरुको बैठक बस्दैं

काठमाडौं । सत्ता गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलको आज पनि बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठक अहिले बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताईएको छ । सरकार सञ्चालनमा सहयोगीका रुपमा सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय भागवन्डा, राजनीतिक नियुक्ति लगायतका विषयमा छिनोफानो लगाउनका लागि सरकारलाई सुझाव दिन कार्यदल गठन भएको थियो ।

कार्यदलमा संयोजक खड्का सहित कांग्रेसबाट रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुड तथा जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्यका रुपमा काम गरिरहेका छन् । यो गठबन्धनले माधव नेपाल समुहका नेतालाई पनि कार्यदलमा बोलाइएपनि नेपाल समुहले नाम दिएको छैन् ।

शुरुमा भीम रावललाई पठाउने तयारी गरेपनि अन्ततः रावलले नेपालसँग भन्दा पछिल्ला दिनमा केपी ओलीको भूलभूलैया प्रस्तावमा ओलीतिरै दिलचस्पी देखाउन थालेपछि नेपालले रावललाई कार्यदलमा पठाएका छैनन् ।

आजको यो छलफल पछि प्रदेश २ को प्रदेश प्रमुख सहित नेपाल पक्षलाई दिने प्रदेश प्रमुख, योजना आयोगको सदस्य देखि अन्य राजनीतिक नियुक्तिहरुको पनि टुंगो लगाउने तयारी छ । सत्ता गठबनधनले मन्त्रालय भागवन्डामा टुंगो लगाउन सकेमा आज भोलि तिरै मन्त्रीपरिषद् बिस्तारको तयारी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस