३३ किलो सुन प्रकरण :चर्चीत व्यपारी देखि पुलिस अफिसर शंकाको घेरामा

शुक्रबार, ३० चैत्र २०७४, १३ : १८
३३ किलो सुन प्रकरण :चर्चीत व्यपारी देखि पुलिस अफिसर शंकाको घेरामा

काठमाडौं । ३३ किलो सुन प्रकरणले नयाँ मोड लिएको छ । ३३ किलो सुन र भरिया सनम शाक्य हत्या प्रकरणमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य बिहीबार पक्राउ परेका छन् । शाक्यलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको बताईएको छ ।

यता प्रकरणमा जोडिएर पक्राउ परेका मध्ये प्रेमराज चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका छन् । प्रहरी स्रोतका अनुसार उनी शुक्रबार बिहानै ट्वाइलेटमा मृत अवस्थामा फेला परेका हुन् । उनलाई बिहीबार गृह मन्त्रालयको टोलीले सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो । उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनले आफैंले लगाएको ट्रयाक–सुटले घाँटी बेरर पासो लगाई आत्महत्या गरेको बताइएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी मोहन थापाले घटनाको पुष्टि गरेका छन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनी नेपाल वायु सेवा निगममा कार्यरत कर्मचारी रहेको प्रहरी स्रोतले बताएको छ । गएको माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो । सुन गायब भएपछि तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । प्रहरीले शाक्यको शव विराटनगरबाट बरामद गरेको थियो ।

आरके ज्वेलर्सका सञ्चालकसँगै उक्त सुन प्रकरणका पक्राउ पर्नेका संख्या २१ पुगेको छानविन समितीका एक सदस्यले बताएका छन् । समितीले अनुसन्धानका लागी यसअघी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ, बाकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्य प्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सुन प्रकरणमै प्रहरी संग्लनताको आशंका गर्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहितका उच्च प्रहरी अधिकारी पनि शंकाको घेरामा छन् ।

प्रतिक्रिया दिनुहोस