दाङमा एक वर्षको अवधिमा ३९ किलो लागू औषधसहित ७६ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, ०७ : ३९
दाङमा एक वर्षको अवधिमा ३९ किलो लागू औषधसहित ७६ जना पक्राउ

दाङ ।  दाङमा लागूऔषध नियन्त्रणका लागि प्रहरीको अभियान तिब्र बनेको छ । जिल्ला प्रहरी प्रमुख भएर आए लगत्तै सुरेशप्रसाद काफ्लेले यो अभियानलाई तिब्र वनाएका हुन् ।

उनले लागू औषध र चोरीमा सलग्न भएको आरोपमा ३ जना घुमुवा प्रहरीलाई निलम्बन गरि हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छन ।  वितेको एक वर्षमा विभिन्न प्रकारका ३९ किलो लागूऔषध सहित ७६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वर्षेनी प्रहरीले लागूऔषध बरामद र व्यक्ति पक्राउ गर्दै आएको छ । तर नियन्त्रणमा भने चुनौती झन–झन थपिदै गएको छ । भरिया र सेवनकर्तालाई मात्रै प्रहरीले पक्राउ गर्दा यसको मुख्य कारोबारीसम्म भने प्रहरी पुग्न सकेको छैन् । पक्राउ पर्नेहरूले पनि आफूहरूलाई पैसामा लोभ देखाएर भरिया मात्रै बनेको बताउने गरेको प्रहरीमा बयान दिने गरेका छन् ।

वितेको आर्थिक वर्षमा १५ किलो चरेससहित ६ जना, २१ किलो ८ सय १७ मिलिग्राम अफिमसहित १४ जना, ४ सय ६८ ग्राम ५ सय ८९ मिलिग्राम ब्राउन सुगरसहित ४६ जना, २ किलो ७ सय ३२ मिलिग्राम गाँजा सहित ५ जना र ३ हजार २३ ट्याबलेट नाइट्रोभेटसहित ५ जना पक्राउ परेका छन् ।

उक्त लागूऔषध बरामद र पक्राउ परेका व्यक्तिविरूद्ध ३९ वटा मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ब्राउन सुगर र अफिम मुद्दामा अझै १२ जना व्यक्ति फरार रहेका छन् । चालु आर्थिक वर्षमा पनि दैनिकजसो प्रहरी लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस