परिवारले बुझे सुजिता भण्डारीको शव

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १६ : १७
परिवारले बुझे सुजिता भण्डारीको शव

चितवन । चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन्। गत असार २० गते मृत अवस्थामा भेटिएकी सुजिताको हत्या भएको भन्दै परिवारले आरोपित सार्वजनिक नहुँदासम्म शव नबुझ्ने अडान लिँदै आएका थिए।

पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको सुजिताको शव उनका बुवाले सोमबार बुझेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

असार ११ गतेबाट हराएकी सुजिताको शव ९ दिन पछि जंगलमा भेटिएको थियो। प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने तरल पदार्थ आशंका गरिएको बोतल र झोला फेला पारेको थियो।

शव भएको स्थान नजिकैबाट उनले प्रयोग गर्ने गरेको मोबाइल सेट पनि प्रहरीले फेला पारेको थियो। प्राप्त प्रमाण, काठमाडौंमा गरिएको पोष्टमार्टमको रिपोर्टको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा चोटपटक नदेखिएकाले हत्या नभएकोतर्फ प्रहरी अनुसन्धान छ। अनुसन्धानका लागि प्रहरीले पर्खिराखेको भिसेराको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।

कुनै विषाक्त पदार्थको सेवनबाट उनको मृत्यु भएको हो होइन भन्ने यकिन गर्न प्रहरीले भिसेरा रिपोर्ट पर्खिरहेको छ। सुजिताले असार ११ गते आफू अपहरणमा परेको भनेर आफूलाई फोन गरेको भन्दै दिदी कविताले खोजी गरिदिन प्रहरीमा मौखिक जानकारी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस