जनकपुरमा रेल्वे ट्रयाकको परिक्षण गरियो, तर सञ्चालनको टुंगो अनिश्चित

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, ०८ : १५
जनकपुरमा रेल्वे ट्रयाकको परिक्षण गरियो, तर सञ्चालनको टुंगो अनिश्चित

जनकपुर । नेपाल रेल्वेको जनकपुर खण्डको लिक वरपर परिचालित ठूलो संख्याको सुरक्षाकर्मीलाई सर्वसाधारणको बाक्लो भिड व्यवस्थापन गर्न हम्मे पर्यो। शनिबार नै रेल्वेको जनकपुर खण्ड वरपर लाग्ने तरकारी बजार खाली गराइएको थियो। यो तयारी कुनै ‘हाइप्रोफाईल’ को सवारी भएर होइन जयनगर–जनकपुर–कुर्था रेल्वे खण्डको लिकमा रेल दौडाएर गति क्षमता परीक्षण गर्नका लागि थियो।

आइतबार बिहान पौने १२ बजे जनकपुर प्लेटफर्ममा रेल आइपुग्दा हेर्नका लागि सर्वसाधारणको भिड उर्लिएको थियो। एउटा एसी कोचसहित भारतीय रेलले जयनगर–जनकपुर–कुर्था रेल्वे खण्डमा आइतबार लिकको गति–क्षमता परीक्षण गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। भारतीय सरकारले जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरमा ब्रोडगेज लिंक बनाएको दुई वर्ष भइसक्यो। 

भारत सरकारकै सहयोगमा कुर्थादेखि बर्दिवाससम्म ब्रोडगेज लिंकको निर्माण कार्य जारी छ। निर्माण सम्पन्न भइसकेको जयनगरदेखि कुर्थासम्म भारतीय रेलले लिकको परीक्षण गरेको छ। नेपालले खरिद गरेको रेल नै लिकको परीक्षणमा चलाइने बताइए पनि भारतीय रेलमार्फत गति परीक्षण गरिएको हो।

महाप्रबन्धक भट्टराईले रेल सञ्चालनपूर्वको तयारीका क्रममा रेल्वे लिकको स्पिड टेस्ट र सर्टिफिकेसनको काम आइतबार गरिएको बताए। उनका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति–क्षमता परीक्षण गरिएको हो। परीक्षण सफल भएको उनले दाबी गरेका छन। परीक्षण गर्दा रेल १ सय २० किमी प्रतिघण्टा दौडने भनिए पनि गति त्यसभन्दा कमै थियो।

रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाका अनुसार कुर्थादेखि जयनगर पुग्न २३ मिनेट समय लागेको थियो। पूर्व मध्य रेलवेको परीक्षण रेल प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा कुदेको रेल्वे कम्पनीको दावी छ। तर यस रेलको पछाडि भागमा स्पष्ट लेखिएको छ, ‘११० किलोमिटर प्रतिघन्टा।’ यसलाई आधार मान्ने हो भने परीक्षणका दौडानमा रेल १२० किलोमिटर प्रतिघन्टा दौडेको दाबीमाथि प्रश्न खडा गरेको छ।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि गत्त वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस