प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १३ : २२
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिए । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’, यादवको भनाइ छ ।

बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए ।गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।  

प्रतिक्रिया दिनुहोस